पोखराको फेवाखोचमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन आयोग गठन गरेको हो । घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सदस्यमा अवकाशप्राप्त उड्डयन विज्ञ दीपकप्रकाश बाँस्तोला, उड्डयन विज्ञ सुनिल थापा र उड्डयन क्षेत्रका इन्जिनियर एकराजजंग थापा रहेका छन् । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।
घटनाको छानबिन गर्न आयोगलाई ४५ दिनको समय दिइएको छ ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शोकमा भोलि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।