काठमाडौं/पोखरा । पोखरामा भएको विमान दुर्घटनाका कारण सरकारले आज शोक बिदा दिएको छ । आइतबारको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय शोक बिदा हुने र राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज माघ २ गते शोक बिदा दिइएको हो । साथै राष्ट्रिय झण्डा आधा झुकाउने र अत्यावश्यक बाहेकका सेवा तथा कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फनिन्द्रमणि पोखरेलले जानकारी दिए ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खाल्डोमा दुर्घटना भएको थियो । बिहान १० बजेर ५० मिनेटमा अन्तिम पटक विमानस्थलको टावरसँग सम्पर्कमा हुँदा ४ जना चालक दल र ६८ यात्रुसहित ७२ जना थिए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले मनाउन लागिएको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विमान दुर्घटनाका कारण स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।