काठमाडौं । बिचौलियाले बढी नाफा खोज्दा बजारमा पाइने सामान्य जार र पानीका बोतलको मूल्य दोब्बर भएको छ । खानेपानी उद्योगले सस्तोमा सप्लायरलाई दिए पनि बिचौलियाले झण्डै तीन गुणा कमिसन लिने हुँदा उपभोक्ता ठगीमा परेका छन् ।
खानेपानी उद्योगबाट उपभोक्ताले सिधै पानी खरिद गर्न पाउँदैनन् । जार र बोतलको पानी सरकारले बिक्री-वितरण गर्दैन। निजी कम्पनीको एकाधिकार हुँदा मूल्य निर्धारणमा पनि मनमानी हुन्छ ।
हाल उपत्यकामा १५० पानी उद्योग छन् । यी उद्योगहरूले उपत्यकामा जार र बोतलको पानी आपूर्ति गर्छन्।
प्रति जार डिपो र सप्लायर्सलाई उद्योगले १८ रुपैयाँमा दिन्छन् । पसलेले प्रति जार २५–३० रुपैयाँमा सप्लायर्सको बाट लिन्छन । तर पसलले २० रुपैयाँ कमिसन लिएर प्रति जार ५० रुपैयाँमा बिक्री गर्छन।
देशभर वितरण हुने जार र बोतलको पानी उद्योगबाट सिधै उपभोक्ताकहाँ पुग्दैन । बिचौलिया दुई प्रकारका हुन्छन्, एउटा सप्लायर र अर्को पसल। सप्लायर्सले उद्योगबाट कमिशन लिएर पसलमा खानेपानी पुर्याउँछन्। बढी नाफा खाए पछि उपभोक्तालाई बिक्री गर्छन् ।
त्यस्तै उद्योगले प्रति बोतल ११ रुपैयाँमा उपलब्ध गराएको पानी उपभोक्तामा पुग्दा २० रुपैयाँ पर्छ । खानेपानी उद्योगले १२ वटा बोतल पानीको कार्टुन १२० रुपैयाँमा बिक्री गर्ने गरेको छ भने बिचौलियाले १५० देखि १ सय ७० रुपैयाँ बढी मूल्यमा बिक्री गरिरहेका छन् ।
उपभोक्ताकर्मी ज्योति बानियाँले पानीको कालोबजारी भइरहेको बताए । खानेपानीमा बिचौलियाको प्रभाव बन्द गर्नुपर्ने उनको भनाइ छ । ‘अब बोतल र जारको कालोबजारी अन्त्य हुनुपर्छ,’ उनले भने ।