काठमाडौं । सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले आज पदभार ग्रहण गरेपछि दशक घोषणा गर्ने निर्णय गरेकी छन् ।
मंगलबार मन्त्रालयमा पदवहाली गरेपछि उनले उक्त दशक घोषणा गर्ने बताइन् ।
कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गरेकी छन् ।
लामो समयदेखि कृषि बीमाको भुक्तानी कागजमै हुँदा किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति तिर्न सहज हुने विश्वास व्यक्त गरिएको छ । उद्घाटनका क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री शाहले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।