बुटवल । बुटवलको ऐतिहासिक तथा पुरातात्विक क्षेत्रलाई पर्यटनसँग जोड्न २ वटा केबलकार आयोजनाको निर्माण धमाधम भइरहेको छ । निजी क्षेत्रले साढे चार अर्ब रुपैयाँभन्दा बढीको लगानीमा बुटवलभन्दा माथिका दुई पहाडमा केबलकार निर्माण गर्न लागेको हो ।
लुम्बिनी केबलकारको बेस स्टेसन बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ बमघाटमा छ भने यसको शीर्ष स्टेशन पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ को बसन्तपुरमा छ। अर्कोतर्फ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुटवलको मणि–मुकुन्दसेन उद्यान फुलबारीदेखि उत्तरपूर्वी शिखर देउरालीसम्म निर्माण भइरहेको सिद्धार्थ केबुलकारले पाल्पाको नुवाकोटगढीलाई शीर्ष स्थानमा राखेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको पहलमा भित्रिएका आयोजना सम्पन्न भएपछि लुम्बिनीको बुटवलमा दैनिक १० हजार आन्तरिक/बाह्य पर्यटक भित्रिने अपेक्षा छ । बुटवलमा लुम्बिनीसँग जोडिएर ठूला पूर्वाधार निर्माण भएपछि निजी लगानीकर्ता आकर्षित भएका छन् ।