सुनसरी । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मधेश प्रदेश प्रवेश गरेको छ । सुनसरीको इटहरीमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गरेपछि सेमिफाइनल समीकरण प्रदेश गरेको हो ।
समूह ए बाट सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्रमसः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुग्दा समूह बीबाट प्रदेश १ विजेता र मधेश प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । दुबै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।
जितका लागि मधेशले दिएको एक सय आठ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९१ रन मात्र बनायो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय सात रन बनाएको थियो । मधेशको लागि साना प्रविनले सर्वाधिक ४६ रन बनाउनुभयो ।
माघ ७ गतेसम्म चल्ने प्रतियोगतामा विजेता ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याट्स वुमनलाई २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।