म्याग्दी । म्याग्दीको गलेश्व हुँदै बग्ने कालीगण्डकी नदीको शिला भगवान रामको जन्मभूमि मानिने भारतको अयोध्याधाममा लगिने भएको छ ।
हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन मन्दिरमा बनाइने राम र सिताको मूर्ती बनाउन म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकीको किनारबाट शिला लैजाने तयारी गरिएको हो ।
भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको आईतवार विधिवत पूजा गरिएको हो ।
विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्र कुमार सिंहले उक्त शालिग्राम बेनीबाट पोखरा, हेटौँडा हुदै जनकपुरधाम स्थिति जानकी मन्दिरलाई हस्तान्तरण गरिने र त्यहाँबाट अयोध्या लगिने बताए ।
जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन तथा नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । ‘अयोध्याको आकर्षणको केन्द्र रामको मूर्ति बनाउन यस शीलाको प्रयोग हुनेछ ।
शिला पूजन कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका तर्फबाट महासचिव जितेन्द्र कुमार सिंह, संगठन सचिव प्रल्हाद कुमार, जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्णव, गण्डकी प्रदेश प्रमुख पृथ्वी गुरूङ्ग, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, नेपाली काँग्रेसका बरिष्ठ नेता विमलेन्द्र निधि सहितको उपस्थिति रहेको थियो ।