काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका छन्।
२८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “आजदेखि सुरु भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व २८५९ बिरालो वर्षको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइ सबैलाई सु-स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
उनले भने, “ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो। यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो। यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ। कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम ल्होछार पनि भन्छन्।”
तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्त्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्त्व राख्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।