काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । आज बिहान सभापति शेरबहादुर देउवाकाे धुम्बाराहीस्थित निवासमा बसेकाे पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेकाे हाे ।
गत वैशाखमा सम्पन्न भएको निर्वाचनले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनाए पनि आन्तरिक द्धन्द्धका कारण कांग्रेस सत्ता बाहिर छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेसले विश्वासको मत दिएपनि प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा छुट्टै उम्मेदवार उठाएको थियो । बैठकपछि छोटो प्रतिक्रिया दिदै पूर्वमहामन्त्री डा.शशांक कोइरालाले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भएको बताए । उनले भने, “उमेदवारी दिने निर्णय भएको छ । दिनुपूर्व हामी अरू दलसँग पनि छलफल गर्नेछौ।”
राष्ट्रपतिकाे निर्वाचनलाई केन्द्रमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासकाे मत दिएकाे कांग्रेस नेताहरूले बताउँदै आएका छन् । सभामुख र उपसभामुखमा समेत उम्मेदवारी दिएकाे कांग्रेस सफल भएकाे थिएन ।
अहिलेकाे सत्ता गठबन्धन निर्माणका क्रममा प्रधानमन्त्री नेकपा माओवादीले लिने अनि राष्ट्रपति र सभामुख एमालेकाे हुने सहमति भएकाे थियाे । एमाले नेताहरू याे सहमति भन्दा दायाँबायाँ नहुने दाबी गरिरहेका छन् ।