काठमाडौं । निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ ।
सभामुख र उपसभामुखको निर्वाचनसँगै दलहरूको ध्यान राष्ट्रपतिमा केन्द्रित भएपछि आयोगले फागुन २५ गते निर्वाचनको तयारी थालेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ऐनले कार्यकाल सकिन कम्तिमा एक महिना अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २९ गते निर्वाचित भइसकेकाले कानुनबमोजिम माघ २९ गते निर्वाचन सम्पन्न गरिसक्नुपर्छ ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आयोगले रिक्त स्थानमा उपनिर्वाचन गरेपछि राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी गरेको हो ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २७५ सदस्य, राष्ट्रियसभाका ५९ सदस्य र र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कूल ८८४ जना मतदाता हुन्छन् ।
आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन १५ गतेभित्र राष्ट्रपतिको निर्वाचन गराउन आयोगले काम गरिरहेको जानकारी दिए । ‘राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गराउन आयोगले काम गरिरहेको छ, राष्ट्रियसभाको रिक्त पदका लागि पहिले उपनिर्वाचन हुन्छ, त्यसपछि राष्ट्रपति र उपाध्यक्षको निर्वाचन हुन्छ,’ प्रमुख आयुक्त थपलियाले बताए। आयोगले राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको निर्वाचन गर्नेछ ।