काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र, तस्बिर र अनुसूची फारम भरेर पेस गरेपछि नेपाली नागरिकता पुन: पाएका हुन् ।
सर्वोच्च अदालतको आदेश बमोजिम रविकाे नेपाली नागरिकता पुन: कायम भएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले बताए।
लामिछानेले २०५० सालमा नै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । तर, पछि अमेरिका गएपछि उनले उतैको नागरिकता लिएका थिए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने सर्वोच्चको संवैधानिक इजलासले फैसला गरेको थियो ।
सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि उनले मन्त्री र सांसद पद गुमाएका छन् ।
नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ।