काठमाडौं । बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली यू–२० राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ ।
मंगलबार अखिल नेपाल फुटबल संघ एन्फामा भएको एक कार्यक्रमकाबीच नेपाली टोलीको बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, कार्यसमितिका सदस्य पुरुषोत्तम थापा, पेमा डोल्मा लामा र सरिला श्रेष्ठसँगै महासचिव किरण राई र प्रवक्ता सुरेश शाहको उपस्थिति थियो ।
फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशसति भारत र भुटानसहित चार टिमको सहभागिता हुनेछ । नेपाली टिमको यमप्रसाद गुरुङको प्रशिक्षणमा छ ।
यस्तै नेपाली टिमको कप्तानी जिम्मेवारी सिनियर राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी प्रीति राईले सम्हाल्नेछिन् ।
राउन्ड रोबिन लिग प्रणालीमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।नेपालले पहिलो खेल घरेलु टोली बंगलादेशबीचसँग फेब्रुअरी ३ मा खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ ।
सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।
नेपाली टिम
गोलकिपर : कविता बिक, सावित्री किशन, लिला जोशी ।
रक्षपंक्ति : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ ।
मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही ।
फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द ।