कपिलवस्तु । कपिलवस्तुको तौलिहवाबाट २१ लाख अवैध भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा गएराति करिब नौ बजे तौलिहवाको जमुहर पुल नजिकै भारतीय नम्बर प्लेट भएको कारमा पैसासहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक रहेका छन् ।
प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा शुद्धोदन गाउँपालिका–६ विमिहाका २६ वर्षीय राकेशकुमार वर्मा, ३५ वर्षीय राजेशकुमार वर्मा, गाडीका चालक भारतको नौगढ सिद्धार्थनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका–१ इमिलिया बस्ने २८ वर्षीय हमिद मुस्लिम हुन् ।
तौलिहवाबाट भैरहवा आउँदै गर्दा (युपी ५५ एएम ०४५९) हुण्डाई भेन्यु गाडीका चालक र अगाडिका दुई सिटबाट कुल २१ लाख ७० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । सिटमुनि तीन ठाउँमा नक्कली बटम बनाएर लुकाएर रकम बरामद गरिएको हो ।
भारतमा सुन बेचेर उनीहरु तौलिहवातर्फ आउँदै गरेको स्रोतले जनाएको छ । धेरै दिनदेखि यो व्यवसायमा संलग्न उनीहरुको बारेमा प्रहरीले जानकारी लिएको छ । पक्राउ परेका राकेश कुमार वर्मा तौलिहवास्थित मेरा मार्टका निर्देशक समेत हुन् ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग बुटवलमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
उनीहरु विरुद्ध विदेशी मुद्रा हिनामिनाको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।