काठमाडौँ । नेपाल सरकारले टर्कीमा भूकम्पपीडितको उद्धारका लागि मेडिकल टोली र आपतकालीन सामग्री पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दशौं बैठकले यस्तो निर्णय गरेको हो ।
भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्र भएको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।
“हामी समस्यामा परेको बेला टर्कीको सरकारले हामीलाई सहयोग गर्यो। उनीहरुलाई खाँचो परेको बेला सहयोग गर्नुपर्छ,’ दाहालले भने, ‘जति सक्दो चाँडो राहत सामग्री पठाउन बैठकमा प्रस्ताव राखिएको छ ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पडुएल, मुख्य सचिव शंकरदास वैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
७.८ म्याग्निच्युडको भूकम्पले देश हल्लाएपछि करिब १० हजार मानिसले ज्यान गुमाएका छन् ।