काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया लैजान परीक्षा सुरु भएको छ । पशुपालन तथा कृषितर्फ पहिलो चरणको भाषा परीक्षा गत माघ १८ गतेदेखि सुरु भएको हो ।
सुन् २०२३ मा कृषि तथा पशुपालनतर्फ रोजगारीका लागि कोरिया जान लिइएको यो परीक्षा आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि ३ हजार जनाको मागमा १० हजार ३९८ जनाको आवेदन परेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षा आउँदो फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने सो शाखाले जनाएको छ । दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका छन् ।
दक्षिण कोरियाले अहिलेसम्मकै ईपीएसमार्फत सबैभन्दा बढी श्रमिक नेपालबाट लैजानेगरी कृषि तथा पशुपालनतर्फको पहिलो छनोट चरणको आवेदन माग गरेको हो ।
कोरियाको पछिल्लो नीतिले ठूलो सङ्ख्यामा नेपाली युवाले कोरिया रोजगारीको अवसर पाउने जानकारी दिँदै शाखाका निर्देशक कटुवालले भन्नुभयो, “कोरियाले कोटाको सट्टा जसले छिटो श्रमिक पठाउँछ, त्यही देशबाट धेरै लिने नीति लिएको छ ।”