ललितपुर । ललितपुरको ग्वार्को चोकमा पहिलो फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ ।
माघ २८ शनिवारदेखि फ्लाइ ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो । फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे गाडीलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे गाडीलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन ।
कोटेश्वरदेखि कलङ्कीसम्मको चक्रपथको विस्तारित खण्डमा मुख्य ट्राफिक जाम हुने तीन क्षेत्रमा ‘फ्लायओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लायओभर’ निर्माण गर्न लागिएको हो ।
ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ । ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ ।