काठमाडौँ। गृह मन्त्रालयले हिजो साेमवार काठमाण्डौको गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा भएको र तोडफोड र लुटपाटमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ ।
यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शनका क्रममा हिजो ल्हाेत्से मलमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुट्नेलाई पक्राउ गरी कारबाही गर्न गृह सचिव विनोद सिंहले सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।
नेपाल मोबाइल व्यवसायी महासङ्घले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।
आज मङ्गलवार महासङ्घले नयाँ बसपार्कमा पत्रकार सम्मेलन गर्दै सोमवार बालाजु नयाँ बसपार्कको ल्होत्से मलमा यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने सङ्गठन र सरकारले दिनुपर्ने माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापीरूपमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । सरकारले पसल लुटपाट पर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले १५ घण्टा हुँदासम्म सरकार घटनाप्रति मौन बस्नु व्यवसायीहरूको पक्षमा सरकार नदेखिएको आरोप लगाउनुभयो ।