काठमाडौँ । लामो समयदेखि अंकभार प्रणालीमा ड्राइभिङ लाइसेन्सको ट्रायल परिक्षा लागु हुन नसक्दा सर्वसाधारण सानो गल्तीका कारण फेल हुने गरेका थिए ।
बागमती प्रदेशभित्र आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागु गरेपछि भने सानो गल्तीका कारण अब चालकहरु लाइसेन्सविहीन बन्नबाट रोकिने विश्वास गरिएको छ ।
अन्य प्रदेशमा लागू भइसकेको यो नियम बागमती प्रदेशका पाँचवटै यातायात कार्यालय र ट्रायल सेन्टरमा पनि लागू हुन लागेको हो । यो अंकभार लागू भएपछि ट्रायल दिनेमध्ये झन्डै ७० प्रतिशत उत्तीर्ण हुने अनुमान छ ।
७० अंकभारको नियम लागू भएसँगै सुरुवाती समयमा सेवाग्राहीको चाप बढ्ने भएकाले यातायात कार्यालयले शनिबार पनि ट्रायल दिन पाउने नियम लागू गर्ने तयारी गरेका छन् । बागमती प्रदेश सरकारको निर्देशनपछि सबै कार्यालयले यो नियम लागू गर्नका लागि तयारी गरेको श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए ।
यसअघि अंकभार प्रणाली लागु गर्ने नगर्ने विषयमा मन्त्रालयको आनाकानीले समस्या निम्तिदै आएको थियो । तर, अब चालकले यस्तो सुविधाको उपभोग गर्न पाउने भएका छन् ।