काठमाडौँ । चिकित्सकहरुका अनुसार विश्वमा बाल्यकालको सबैभन्दा धेरै हुने आँखाको क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ, यो रोग समयमा उपचार गराए निको हुने बताएका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानले बुधबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा सचेतना कार्यक्रममा बोल्दै प्रतिष्ठानकी आँखा क्यान्सर रोग विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकार स्थापितले प्रारम्भिक पहिचानले जीवन र आँखा दुवै बचाउन सक्ने बताइन् ।
उनले भनिन्, ‘रेटिनोब्लास्टोमा सबै बाल्यकाल क्यान्सरको ३ प्रतिशत प्रतिनिधित्व गर्दछ र विश्वव्यापीरुपमा हेर्ने हो भने १५०० देखि २ हजार जीवित जन्महरुमध्ये एउटामा रेटिनोब्लास्टोमा हुन्छ । उपचार नगरे घातक हुन्छ ।’
करिब १५ हजार बालबालिकामध्ये एक जनामा यो रोग लाग्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
नेपालमा वार्षिक करिब ५० नयाँ केस फेला पर्ने अनुमान गरिएको छ । प्रतिष्ठानको अन्कोलोजी विभागले वर्षेनी ३५ देखि ४५ नयाँ बिरामी भेट्ने गरेको छ जसमध्ये १५ जनाको दुवै आँखामा रोग लागेको पाइएको छ ।
यो रोग थोरै बालबालिकामा मात्र देखिने भए पनि समयमै उपचार नभएको अवस्थामा आँखाको ज्योति गुम्ने, आँखा नै निकालेर फाल्नु पर्ने वा रोग पुरानो भएमा मृत्यु समेत हुन सक्छ ।