काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा आफूलाई सर्वसम्मत राष्ट्रपति बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरेका छन्।
शनिबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्तापछि संसद भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले भने, ‘मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन। सम्भवतः त्यो पनि चुनावको दिनसम्म हुन्छ कि त्यसमा म कोसिस गर्दैछु। एमाले अध्यक्ष केपी ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो।’ पौडेलले भने, ‘राष्ट्रपति पदलाई सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’
उनले भने, ‘नेपालको संविधान २०७२ को अक्षर र भावनालाई अक्षरशः पालना गर्ने मेरो कर्तव्य हो। देशको संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको चुनौती छ। गणतन्त्र संस्थागत गर्नुपरेको छ।’