काठमाडौँ । युएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत शनिबारको खेलमा नेपाली युवा टोलीले कुवेतविरुद्ध २ सय ४३ रनको फराकिलो जित दर्ता गराउन सफल भएको छ ।
युएईको मलेक क्रिकेट ग्राउन्डमा यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले बिस्फोटक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको विशाल स्कोर खडा गरेको थियो।
नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३० दशमलव ५ ओभरमा १ सय रनमै समेटियो। कुवेतलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ६, हेमन्त धामी र दिपेश कँडेलले २/२ विकेट लिए।
नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । कुमालले ११२ बलमा १०८ रन बनाएका थिए भने खनालले ११७ बलमा १२५ रन बनाएका थिए । यसबाहेक दीपक बोहोराले १३, विशाल विक्रम क्षेत्रीले २३, दीपक बोहोराले १९ र दीपकप्रसाद डूम्रेले २० रन बनाएका थिए ।
कुवेतलाई १०० रनमा रोक्न नेपालका आकाश चन्दले सबै भन्दा बढी ६ विकेट लिए । उनले ९.५ ओभरमा ४३ रन खर्चिए ६ विकेट लिएका हुन् । यस्तै हेमन्त धामी र दिपेश कँडेलले समान २–२ विकेट लिएका हुन् ।
जारी प्रतियोगितामा प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन्। सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ।