काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकम कारोवारमा संलग्न पृथ्वीबहादुर शाहसहितको समूहलाई चारवटा मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुझाव दिएको छ । उनीहरूलाई ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराध गरी चारवटा मुद्दा छुट्टाछुट्टै मुद्दा चलाउन नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोले सुझाव दिएको हो ।
पुस २२ गते शाहसहितको समूहविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको हो । त्यस लगत्तै पृथ्वीबहादुर शाह र विजयविक्रम शाहसमेत ७ जनालाई पक्राउ गरिएको थियो भने १३ जना फरार भएका थिए । उनीहरूविरुद्ध २४ वटा मुद्दा दर्ता भएको केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगंजले जनाएको छ । सिआइबीले पुस २४ देखि शाहसहित ७ जनाविरुद्ध अनुसन्धान थालेको थियो ।
सीआईबीले पृथ्वीबहादुर शाहसमेत भएको ठगी/ किर्ते / संगठित कसुर मुद्दा अनुसन्धानको संक्षिप्त विवरण बुधबार सार्वजनिक गरेको छ । सीआईवीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउनुपर्ने भएको बताएको हो ।
पृथ्वीबहादुर शाहको समूहमा रहेका ब्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनीहरू स्थापना गरेको सीआईबीले खुलाएको छ । उनीहरुले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दुतावासमार्फत् उजुरी दिएका छन । केही क्यानाडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।