काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार आफ्नो स्थापना दिवसको अवसरमा २५औं वार्षिकोत्सव एवं रजत जयन्ती मनाएको छ। प्राधिकरण २०५४ साल फागुन २० गते स्थापना भएको थियो ।
स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रविधि विकासको हरेक क्षेत्रमा काम भइरहेको बताएका छन्। ‘हामी दूरसञ्चार प्राधिकरणको रजत जयन्ती मनाउँदै छौँ,’ उनले भने, ‘यसलाई प्राधिकरणको रजत जयन्ती मात्रै होइन, समग्र दूरसञ्चार विकासको प्रस्थान बिन्दुको जयन्तीका रूपमा मनाउन सकिन्छ ।’
उनले २०५३ सालको दूरसञ्चार ऐनलाई समय सापेक्ष बनाउनका लागि नयाँ मस्यौदा तयार पारिएको बताएका छन् । यस्तै उनले सूचना महामार्ग र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काम निरन्तर अघि बढिरहेको बताएका छन् । यस्तै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापनाका लागि पनि प्राधिकरणले प्रक्रिया अघि बढाएको बताएका छन् । खासगरी इन्टरनेटका अव्यवस्थित तारहरुले समस्याग्रस्त स्थिती समाधानका लागि दूरसञ्चार पूर्वाधार कम्पनीको प्रक्रिया अघि बढाइएको उनले बताए।
प्राधिकरणको वार्षिकोत्सव समारोहमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दाे र सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी छिन् । उनले यसका लागि नीतिदेखि आवश्यक सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताएकी छिन् ।
प्राधिकरणको गत वर्षको वार्षिक प्रतिवेदनअनुसार हाल नेपालमा पाँचवटा भ्वाइस सेवाप्रदायक, २२ वटा नेटवर्क सेवाप्रदायक, एक सय ३७ वटा इन्टरनेट सेवाप्रदायक, दुईवटा जिएमपिसिएस र एउटा इन्टरनेसनल ट्रंक टेलिफोन सेवाप्रदायकले अनुमति प्राप्त गरी सञ्चालनमा रहेका छन् ।