गाउँघरमा बढ्दो आधुनिकताले रङैरङको पर्वका रूपमा मनाइने होली अर्थात् फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली (फागु) खेल्ने चलन पछिल्लो समय हराउँदै गएको हो ।
मौलिक परम्परा, संस्कार संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिन पुगेकाले परम्परागत संस्कृति हराउन थालेका हुन् ।
होली आउनु एक दुई दिन अगाडि नै मादल, झ्याली लगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो । तर अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको पाइन्छ ।
गाउँघरमा शहरी परिवेशले छुन थालेपछि मौलिक भाकामा होली गाउने र नाच्ने प्रचलन हराउँदै गएको हो । यस पर्वलाई विशेषगरी शहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा पाकापुस्ता चिन्ता व्यक्त गर्छन् ।
पछिल्लो समय होली अर्थात् फागुपर्व तडकभडक हुन थालेको छ । शहरी परिवेशले ढपक्कै ढाकेपछि गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दो छ । यसले पनि होलीको परम्परागत महत्व र रौनक हराउँदै गएको छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित छ ।