काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयले सोमबार दिउँसो १ बजे राष्ट्रपतिमा निर्वाचित पौडेललाई सपथ ग्रहण गराउन शितल निवासमा विशेष समारोहको आयोजना गरेको छ । आजै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पनि बिदाइ गरिने छ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।
नवनिर्वाचित पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने जनाइएको छ। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ। संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः उम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ।
नेपालमा २०६२ को जनआन्दोलनको परिणामस्वरुप मुलुकले गणतन्त्र स्थापनासँगै राष्ट्रपतीय प्रणालीको अभ्यास सुरु भएको हो ।