काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दुई वर्षे श्रम स्वीकृति दिने प्रावधान हटाएको छ ।
प्रधानमन्त्रीको निर्णयबाट उक्त प्रावधान हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
गन्तव्य मुलुकमा काम गर्ने करार अनुमति र रोजगारदाता र कामदारबीच भएको सम्झौताको आधारमा श्रम स्वीकृति दिने नयाँ व्यवस्था गरिएको छ ।
यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने सबैलाई दुई वर्षको श्रम स्वीकृति दिँदै आएको थियो । सरकारले गन्तव्य मुलुकमा रहेका नेपाली नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
पुनः श्रम स्वीकृतिको व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा गन्तव्य मुलुकमा रहेका नेपाली कामदारले धेरै समस्या भोग्नुपरेको छ ।