काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।
करिब १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ।
काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन विश्वविद्यालयले कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।
पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन्। जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन्।
निर्वाचनका लागि शुक्रबारदेखि नै मौन अवधि समेत सुरु भएको थियो। मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल समेत लैजानका लागि निषेध गरिएको छ। निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो।