काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएका छन् । पुष १० गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले सोमबार प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री दाहालले १७२ मत पाएका छन् । उनले संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित आठ राजनीतिक दलको समर्थनमा बहुमत ल्याउन सफल भएका हुन् । प्रधानमन्त्रीको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिएका हुन्।
नेकपा एमाले र राप्रपाका सांसदहरुले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरे भने नेपाल मजदुर किसान पार्टी तटस्थ रहे ।
प्रतिनिधिसभामा ५० प्रतिशत सिट प्राप्त गर्ने व्यक्ति मात्र प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री दाहाललाई २७५ सांसदमध्ये कम्तिमा १३८ मत आवश्यक थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा जम्मा २६२ सांसद उपस्थित थिए ।