काठमाडौँ । आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आग्रह गरेको हो ।
आयोगले आज एक सूचना जारी गर्दै चैत ८ गते देखि चैत १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ ।
आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको छ ।
आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।