तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको छ ।
कूल ६३ हजार ७५७ मत खसेकोमा अहिलेसम्म ५१ हजार २१९ मत गणना भइसकेको छ। आज राति १०ः३२ बजे सार्वजनिक मतपरिणामअनुसार स्वर्णिम वाग्लेले २६ हजार ८२७ मत प्राप्त गरेका छन्।
यता सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले १५ हजार ४५४ मत प्राप्त गरेका छन्। भट्टराईभन्दा वाग्ले ११ हजार बढी मतान्तरले अघि छन्। तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने ७ हजार २८९ मत प्राप्त गरेका छन्। अब यहाँ १२ हजार ५३८ मत मात्र गन्न बाँकी रहेको छ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ। भोलिसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।