काठमाडौँ । निर्वाचन आयोगले आगामी साउन १ गतेदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन सुरु गरिने भएको छ।
राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी दिएका हुन्।
पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिने उनले बताए । उनीहरुको बायोम्याट्रिकसहित मतदाता नामावली संकलन गरिनेछ ।
विदेशमा रहेका नेपालीले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन भरेपछि कूटनीतिक नियोगमा पुगेर आफ्नो फोटो र औंठाछाप दिनुपर्नेछ ।
थपलियाले भने, ‘सम्बन्धित देशमा रहेको नेपाली राजदूतावास अथवा कूटनीतिक नियोगसँग समन्वय गरेर मतदाताहरूको फोटो, औंठाछाप संकलन गर्ने गरी आयोगले आन्तरिक तयारी गरेको छ।’