काठमाडौं । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने व्यवस्था गरेको छ ।
असार १ गतेदेखि काठमाडौंमा रहेका सार्वजनिक सवारीहरू गोंगगबुस्थित नयाँ बसपार्कबाट छुट्ने भएका छन् ।
काठमाडौं महानगरपालिकामा आज बसेको सम्बन्धित सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्ने निर्णय गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे काठमाडौँभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिका लागेको बताउनुहुन्छ ।
“काठमाडौँ महानगरपालिकाले लामो तथा छोटोदुरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्क निर्माण गरी उपलब्ध गराएको छ, सबै सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन हुनुपर्छ,” उहाँ भन्नुहुन्छ ।
“बसपार्कभित्र सवारीसाधन नअटाए त्यसको विकल्प खोजिने उहाँको भनाइ छ ।”
यस्तै काठमाडौंका रिङरोडमा रहेका सम्पूर्ण टिकट काउन्टरहरू पनि भोलिबाट हटाउने निर्णय गरिएको छ ।