काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनचेतना फैलिएकाले सेवनकर्ता विस्तारै घट्दै गएको सरकारले सार्वजनिक गरेको विभिन्न तथ्यांकले देखाएको छ ।
सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने र धूमपान तथा सुर्तीजन्य पदार्थले फोक्सोको क्यान्सर हुन्छ भन्ने चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने उल्लेख गरिएको छ ।
सरकारले यही असार ८ गते सार्वजनिक गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ मा विगतभन्दा सुर्तीजन्य पदार्थको सेवनमा कमी आएको देखाइएको छ । सर्वेक्षणमा पुरुषको तुलनामा महिलामा सुर्तीजन्य पदार्थको सेवन एकदमै कम मात्रामा हुने गरेको छ ।
सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष उमेरका २८ प्रतिशत पुरुष र पाँच प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्दछन् । सोही स्वास्थ्य सर्वेक्षणअनुसार २००१ मा सुर्तीजन्य पदार्थको सेवन गर्ने ४५ प्रतिशत पुरुष र २३ प्रतिशत महिला रहेका थिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव नौ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । पन्ध्रदेखि ६९ वर्ष उमेर समूह ४८ दशमलव तीन प्रतिशत पुरुष र ११ दशमलव छ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।
केही वर्षअघि नेपालमा ३० प्रतिशत (५१ दशमलव नौ प्रतिशत पुरुष र १३ प्रतिशत महिला० मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका थिए । पहिलो पटक धूमपान सुरु गर्दाको औसत उमेर १७ दशमलव आठ रहेको छ ।