विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कोशी प्रदेशसभा बैठक आज शुक्रवार बिहान ११ बजे बस्दैछ ।
प्रदेश सभाको बिहीबार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो । बेलुकी ९ः३० बजे प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी अर्को सूचनामा शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको जानकारी गराउनुभएको थियो ।
कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ । यसअघि सभा दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि सभा १ः५० मा प्रारम्भ भएको थियो ।