विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापालाई सभामुखसहित प्रदेशसभाका ४७ सदस्यको समर्थन रहेको छ । ९३ सदस्यीय कोशीमा सरकार निर्माणका लागि ४७ जनाकै समर्थन चाहिन्छ ।
प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। कांग्रेसका २९, सभामुख बाबुराम गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा थापाले दाबी पेस गरेका थिए ।
संसदबाट विश्वास गुमाएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो । प्रदेश प्रमुखले आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए । गठबन्धनले समयसीमाभित्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेर थापालाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको थियो ।
तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्वीकार गर्ने जनाएको छ ।