ललितपुर । साझा यातायातले ललितपुरको नयाँ रुट तय गर्दै बस चलाउन सुरु गरेको छ । साझाले गोदावरी नगरपालिका वडा ५ लेलेबाट रत्नपार्क सम्म नयाँ रुटमा सेवा विस्तार गरी गाडी चलाउन थालेको हो ।
साझाले यसअघि चक्रपथ बाहिर ललितपुरको गोदावरीदेखि रत्नपार्क सम्म साझा यातायात सञ्चालनमा ल्याएको थियो । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले हिज (बिहिबार) एक कार्यक्रमबिच साझा बसमा यात्रा गर्दै यातायात सेवा शुभारम्भ गरेका थिए ।
लेलेबाट सुरु भई चापागाउँ, थेचो, सुनाकोठी, सातदोबाटो, लगनखेल, जाउलाखेल, पुल्चोक, कुपण्डोल, रत्नपार्क हुँदै रत्नपार्क पुग्नेछ।
गोदावरी नगरपालिकाबाट साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानी गरी डिजेलबाट चल्ने चार वटा गाडीलाई सञ्चालनमा ल्याएको हो । हाल डिजेलबाट चल्ने बस सञ्चालनमा ल्याएको भए पनि निकट भविष्यमा चार्जिङ स्टेसन सहित इलेकट्रोनिक्स बस सञ्चालनमा ल्याइने नगर प्रमुख महर्जनले बताए ।
यस सँगै लेले–लगनखेल सडक खण्डमा यातायात व्यवसायीले लगाएको सिन्डिकेटबाट स्थानीय यात्रुहरूले केही राहत पाउने अपेक्षा गरिएको छ । साथै ललितपुरको काठ क्षेत्रबाट काठमाण्डौको मध्य भाग सम्म आफ्नो रोजगारी र व्यापारको सिलसिलामा दैनिक आवतजावत गर्दा धेरै वटा सवारी साधन प्रयोग गर्नु पर्ने बाध्यता हट्ने छ ।
साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रुटहरूमा सेवा विस्तार गरिरहेको छ । यसअघि साझाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सम्पदा क्षेत्रलाई लक्षित गरेर ‘हप अन, हप अफ’ बस सेवा थालेको थियो भने पाटन ढोकाबाट रत्नपार्क हुँदै ज्ञानेश्वर–जोरपाटी–दक्षिणढोकासम्मको बिजुली बस सेवा पनि आरम्भ गरेको थियो ।
उनले यस क्षेत्रमा साझा यातायात सञ्चालन हुँदा उपत्यकाभित्र जागिर, व्यापार व्यवसाय गर्ने महानुभावहरूलाई प्रत्यक्ष रूपमा फाइदा हुने भएकाले यातायात सेवा निरन्तर रूपमा चलाउन सहयोग गर्न नगरवासीहरुलाइ आह्वान गरे ।