सुदूरपश्चिम प्रदेश सभाले मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
आज सोमबार अपराह्न ४ बजे बसेको प्रदेश सभाको बैठकमा सवारी दुर्घटनामा परी निधन भएका मन्त्री सिंहप्रति प्रदेश सभाको दोस्रो अधिवेशनको १५ औं बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव वाचन गरेका थिए ।
असार ५ गते डडेलधुराबाट गृह जिल्ला बझाङ जाने क्रममा सवारी दुर्घटनामा परी सिंहसहित तीन जनाको निधन भएको थियो । सोमबार अपराह्न ४ बजे बसेको बैठकले स्वर्गीय सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै २ मिनेट मौन धारण गरेको थियो ।
असार १ गते बजेट प्रस्तुत गरिएपछि आज २५ दिनपछि प्रदेश सभाको बैठक बसेको हो । बजेटमाथिको छलफल भने कार्यसूचीमा परेको छैन । प्रदेशसभा सचिवालयका अनुसार मंगलबारदेखि बजेटमाथिको छलफल हुनेछ ।
बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।