काठमाडौँ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज (मंगलबार) देखि सुरु भएको छ । पार्टीको केन्द्रिय कार्यालय सानेपामा बसिरहेको बैठकमा १० वटा कार्यसूची प्रस्तुत गरिएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, आर्थिक, सामाजिक, परराष्ट्र, सुशासन, साङ्गठनिक कार्ययोजना, नीति महाधिवेशन, विभागहरूका गठन लगायतका विषयमा छलफल हुने पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका अर्का महामन्त्री गगन कुमार थापाले पार्टीको वार्षिक कार्ययोजना पेस गर्नुहुँदै भदौ १५ गतेभित्र पार्टीका भातृ सङ्गठनहरूलाई पूर्णता दिने र भदौ मसान्तभित्र सबै भातृ सङ्गठनलाई पार्टी केन्द्रिय कार्यालयमा वार्षिक कार्ययोजना पेस गर्ने बताउनुभयो ।
केन्द्रिय समिति बैठकमा संघीय सरकारका साथै सातवटै प्रदेश सरकारमा नेपाली काँग्रेसको सहभागिता रहेकाले सरकारका गतिविधिका बारे पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रतिवेदन पेस गर्नुहुनेछ भने प्रतिनिधिसभामा पार्टीको भूमिका बारे प्रमुख सचेतक रमेश लेखकले प्रतिवेदन पेस गर्नुहुने कार्यक्रम रहेको छ ।