काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधनको स्मार्ट लाइसेन्ससम्बन्धी समस्या चाँडै समाधान गर्ने बताएका छन् ।
आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
स्मार्ट लाइसेन्स कार्ड छपाइमा हाल प्राविधिक कारणले ढिलाइ भइरहेको भन्दै उनले अब यस्तो समस्या धेरै दिन नरहने जनाए ।
स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको पनि उनले जानकारी दिए ।
यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको उनले उल्लेख गरे ।
सार्वजनिक यातायातमा ड्रेस तथा परिचय पत्र वितरण र सरसफाई अभियान सुरु हुनु सार्वजनिय यातायातका क्षेत्रमा महत्त्वपूर्ण कदम भएको उनले बताए ।
चालक, सहचालकहरूले राम्रो व्यवहार र बोलीले नै यात्रुहरू खुसी हुने भन्दै उनले यात्रुहरूलाई सेवा दिनु नै सार्वजनिक यातयातको पहिलो काम भएको उल्लेख गरे ।
‘लाइसेन्स स्मार्टकार्डबारे धेरै गुनासाहरू छन्। हामी यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी हामीले तयारी गरेका छौं,’ उनले भने ।
चालक, सहचालकहरूको बोलीका कारण पनि कतिपय यात्रुहरूले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
यस्तै इम्बोस्ड नम्बर प्लेट जडानमा पनि बेवास्ता गर्नु नहुने बताउँदै उनले यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको स्पष्ट पारे ।