कैलाली । डेंगु रोगका बिरामी बढ्न थालेपछि कैलालीसहितका जिल्लामा लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ (लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने) अभियान थालिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले यो रोगको रोकथामका लागि लामखुट्टेको लार्भा बन्न नदिन जिल्लाका पालिका तहमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागितामा यो अभियान सुरु गरिएको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा यो रोगबाट हालसम्म ३१८ व्यक्ति बिरामी भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग सर्ने गर्छ ।
प्रदेशमा सबैभन्दा बढी दार्चुला जिल्लामा डेंगुका १९० बिरामी फेला परेका छन् । तराईका जिल्ला कञ्चनपुरमा ५२ र कैलालीमा २३ जना बिरामी फेला परेका छन् । पहाडी क्षेत्रको अछाममा ३१ बिरामी पुगेका छन् ।