काठमाडौं । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । व्यापारको सिलसिलामा रुकुम आएको मोरङका तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि काठमाडौंबाट रुकुमपूर्व आएका थिए ।
राई बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए । डेङ्गुसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा पोजेटिभ देखाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्रराज कोइरालाले जानकारी दिए । उनका अनुसार राईमा ज्वरो आउने र घाँटीमा सुन्निएको जस्तो देखिने समस्या देखिएको थियो ।
पछिल्लो समय डेङ्गु संक्रमण बढ्दो क्रममा रहेकाले अस्पतालमा उपचारका लागि आउनेमध्ये लक्षण देखिएका शङ्कास्पद बिरामीमा परीक्षण गर्ने गरिएको डा कोइरालाले बताए ।
जिल्लामा सङ्क्रमण देखिएपछि अन्यमा पनि डेङ्गु हुनसक्ने भएकाले सबैले आवश्यक सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ ।