काठमाडौँ । बुधवार दिनभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षा बुधवार पनि बिहानै देखि निरन्तर जारी रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको झार खण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोसी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति भने कोसी, मधेस र बागमती प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।