काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
उनका अनुसार मंगलबार दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्ली जान लागेको अवस्थामा छोदेनलाई १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका छोदेनसँग भारतीय राहदानी भएको डिआइजी ठकुरीले बताए। छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली रुपैयाँ अनुसार ३१ लाख ५० हजार बराबर रहेको जनाइएको छ ।