काठमाडौँ । विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय पाउन सकिन्छ’ भन्ने नाराका आइतबार यो दिवस मनाउन लागिएको हो ।
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षघात दिवस मनाइन्छ। एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्व कम भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै पक्षघात भनिन्छ ।
समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ। सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन् । नेपाल पक्षघात संघका अध्यक्ष डा. राजु पौडेल विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षघात हुने गरेको बताउँछन् । हरेक ६ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षघात हुने गरेको छ ।
‘विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेण्डमा एक जनालाई पक्षघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ’, उनी भन्छन् । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा उनी जोड दिन्छन् ।
नेपालमा अहिले पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ । डा.पौडेलका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबडी हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ ।
सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लर्बराउनु, हातखुट्टा लुलो हुनु पक्षघातका लक्षण हुन् । यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव हुने डा. पौडेल बताउँछन् ।
पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ । नेपालमा भौगोलिक विकटता, सीमित स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण पक्षघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ ।