काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । फाल्गुनन्दको जयन्तीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरेर उहाँहरूले सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिनुभएको मार्गनिर्देश अनुशरणीय रहेका बताउनुभएको छ ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन विसं २००५ मा भएको हो । किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोवास रहेको पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका संस्थापक अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।