काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रु २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रु २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो ।
कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रु ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रु ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ ।
चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ ।
गत कात्तिक मसान्तसम्ममा सरकारले रु २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा भने रु ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ ।



