काठमाडौँ । सरकारले माघ २ गते २६ औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ।
शहरी विकास तथा भवन निर्माण विभागले भूकम्प दिवसका अवसरमा स्थानीय,प्रादेशिक तथा केन्द्र स्तरमा भूकम्प सुरक्षा सम्बन्धी चेतनामूलक र अभ्यास कार्यक्रम गरिने आज पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले मूल समारोह समितिको बैठकले जाजरकोट, बझाङ, र डोटी केन्द्रबिन्दु भई गएको भूकम्पका प्रभावितहरूलाई उपलब्ध गराइएको राहत तथा अस्थायी आवास निर्माण कार्यको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुगमन गरी प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।
यस्तै, बैठकले दिवसको नारा सहितको पोष्टर लगायतका सामग्री सहित मुलुकभरका सार्वजनिक तथा विद्यालयहरूमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, भूकम्प सुरक्षा विषयमा कक्षा सञ्चालन गर्नुका साथै कृत्रिम घटना अभ्यास गर्ने, गराउने तयारी समेत भएको महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
यस वर्षको भूकम्प दिवसको नारा “स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ।” तय भएको छ ।