काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक जारी रहेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको हो । बैठकमा पार्टीको विधान शंसोधन, विधान मस्यौदा समिति गरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ । सम्मेलन अगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।
सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो । विधान मस्यौदा समितिले सुझाएको १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावमाथि समेत आज छलफल हुँदैछ । बैठकमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समेत समीक्षा हुँदैछ ।