बाजुरा (कर्णाली प्रदेश) । हुम्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा अर्थात् ८० क्विन्टल नुन पाँच वर्षदेखि अलपत्र छ ।
नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको नुन पाँच वर्षदेखि थन्काइएको छ, कसैले चासो देखाएको छैन । दुर्गमका नागरिक नुन अभावमा चर्काे मूल्य तिरेर नुन किन्न बाध्य छन् । तर सहुलियत अनुदानको नुन भने पाँच वर्षदेखि बाजुरामा थन्किएर म्याद सकिँदासम्म पनि कसैको ध्यान गएको छैन ।
सरकारी अनुदानको नुन पाँच वर्षसम्म पनि खोजी नहुँदा अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन् । ठेकेदारबाट अनुदानवापतको नुन कवाडीसम्म पुगे पनि समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा गोदाममै अलपत्र बनेको हो ।
नुनको पाकेट बाहिर लेखिएको मिति हेर्दा सन् २०१९ अर्थात् गत २०७५ सालमा ढुवानी भएको देखिन्छ । पाकेटमा लेखिएको मितिका कारण धनगढीको नभई नेपालगञ्जबाट हुम्लाका लागि ढुवानी भएको कर्मचारी बताउँछन् । उक्त मात्राको नुन ढुवानी गर्ने ठेकेदार को हुन्, कसको ठेक्का हो र ढुवानी कसले गरेको हो भन्नेबारे यकीन हुन नसके स्थानीयको भनाइ छ ।
हुम्लाको ठेकेदारले नुन ढुवानी गरेको हुनसक्ने आशङ्का भए पनि ठेकेदारको नाम भने पहिचान हुन नसकेको हिमाली–५ का वडाध्यक्ष प्रदीप बुढथापाले बताए । नुन ढुवानी भएदेखि हालसम्म ठेकेदार सम्पर्कमा नआएको र अन्य कुनै निकायबाट पनि खोजी नभएको उनको भनाइ छ। साल्ट ट्रेडिङ कम्पनी नेपालगञ्जको नुन भएकाले बाजुराको नभई हुम्लाको हुन सक्ने आशंका स्थानीयले गरेका उनले बताए ।
अनुदानको नुन कवाडीका स्थानीय प्रकाश बुढथापाको गोदाम घरमा विगत पाचँ वर्षदेखि राखिएको छ ।
‘नुन ढुवानी गर्दा ठेकेदारले स्थानीय बुढथापाको घर खाली भएकाले निजको घरलाई गोदामका रुपमा प्रयोग गरेका हुन् । गोदाममा ताला लगाएर गएदेखि ठेकेदार फर्किएका छैनन्,’ उनले भने, ‘घरमा कोही नभएको समयमा ठेकेदारले नुन राखेकाले घर मालिकले भाडा दिने हुन् वा होइनन् भन्ने आशंकाले अर्काे ताला लगाइदिएका छन् । लामो समयसम्म ठेकेदार र घर मालिकको सम्पर्क नहुँदा दुई वटै ताला खोलिएका छैनन् ।’
‘नुन गोदामका ढोका जीर्ण बन्दै गएका र नुन समेत चोरी हुन थालेको छ । ढुवानी गरेर बाजुरा पुर्याएको नुन समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा प्रयोग गर्ने म्याद सकिएको छ’, नुन डिपो केन्द्र कोल्टी प्रमुख जयराम रेग्मीले भने । प्याकिङ भएको दुई वर्ष भित्र नुन बिक्री गरिसक्नुपर्ने भए पनि पाँच वर्षसम्म गोदाममा थन्काइएको नुनको म्याद सकिएको उनले बताए ।
रेग्मीले नुन दुई वर्षभित्र नुन प्रयोग गरिसक्नुपर्नेमा पाँच वर्षदेखि गोदाममा रहेकाले म्याद सकिएको बताए । उनले उक्त नुन प्रयोग नगर्न आग्रह गर्दै प्रयोग गर्दामा स्वास्थ्यमा असर पर्नेसमेत बताए । बाजुरामा लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको नुनको पुष्टिका लागि विभिन्न निकायसँग बुझ्दा कुनै निकायबाट गतिलो जवाफ प्राप्त हुन नसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताए । अनुदानको नुन कवाडीमा पाँच वर्षदेखि अलपत्र परेको खबर आएकाले प्रहरी परिचालन गरी अनुसन्धान गर्न लगाइएको उनले बताए ।
‘अहिले नै यही भन्न सकिने अवस्था छैन । प्रहरीको प्रतिवेदन आएपछि मात्र कवाडीमा नुन गोदाममा राखेर सम्पर्कविहीन भएका ठेकेदारसहितको खोजी गर्ने छौँ,’ उनले भने, ‘यसरी लुकाइछिपाइ राखिएको नुनको वास्तविकता खोजी गर्न प्रहरी परिचालन भइसकेकाले शीघ्र यसबारे थप तथ्य सार्वजनिक गर्ने छौँ ।’