काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने छ ।
आजको बैठक राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने विषयमा केन्द्रित रहनेछ । राष्ट्रिय सभाको रिक्त हुने १९ सिटका लागि सत्तारुढ चार दलले बाँडफाँट गरिसकेका छन् । जसअनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २, जनता समाजवादीले १ सिट पाएको छ । राष्ट्रपतिमा मनोनीत हुने एक सदस्य पद भने जनमोर्चाको भागमा परेको छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।
कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी सम्बन्धी विधेयकमा दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउने विषयमा छलफल भएको थियो । सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।